अङ्ग्रेजी महिना अगस्टको
पहिले हप्ता अन्तराष्टिय स्तनपान दिवस भनेर मनाइने रहेछ भनेर चार बर्ष अगाडि म पहिलो
पटक गर्भवति हुदा थाहा पाए । त्यस यता हरेक साल यो दिवस आउने जाने क्रम छ र म यो
दिवसलाई नियालिरहेकीछु । सन् १९९१ बाट सुरु भएको विश्व स्तनपान सप्ताह आज सम्म
आइपुग्दा स्तनपान गराउनुपर्छ भन्ने आकर्षक ब्यानर लाइनहरु राम्रै, रमाइलै छन् । म आम मानिस जस्तै यी विषयहरु तथा सामाग्रीहरु
पढिरहेकि छु । युनिशेफ, सुनौला हजार दिन लगायत
विभिन्न जनचेतना मुलक कार्यक्रमहरु भइरहेका छन् तर मेरो लागि र मैले महशुस गरेको कहिल्यै
पनि नउठेको विषय हो- अप्ठ्यारामा परेका आमाहरुका समस्याहरु । गत वर्ष कान्तिपुर
दैनिकमा आमाको असजिलो शिर्षकमा सम्पादकिय बाहेक आमाको समस्या कतै चर्चा भएको पाइन
। यो दिवसले स्तनपानको ठुलो जयजयकार गरिरहेकोछ, ठिक छ । तर मेरो विचारमा, के यो सब कुरो हाम्रो समाजको वास्तविकताबाट अछुत रहेर गर्न
सकिन्छ ?
मलाई हरेक पटक स्तनपानको चर्चाले
एक चोटी नमिठो गरि चिमोट्छ । यो वर्षको लाइन त अती नै छ, “आमाबुबाको सक्षमता
स्तनपानको सफलता” । यस्ता नाराहरुले पहिला, म र मेरो श्रीमानलाई हाम्रो
दुई सन्तानको अगाडि पुरापुर असक्षम करार गर्दिन्छ । दोस्रो, स्तनपान गराउन मैले गरेका
पिडादायी संघर्षको याद दिलाउछ र त्यो डाक्टर, अस्पताल लागायत मेरो देशको स्वास्थय सेवासगँ
फेरी एक पटक रिस उठ्छ । पहिलो बच्चाको
समयमा म नयाँ, केहि पनि थाहा थिएन । मलाई लाग्थ्यो स्तनपान गराउन प्राकृतिक कुरा हो र मैले
पनि यो कुरा सजिलै गर्नेछु, जसरी यो स्तनपान सप्ताहले
प्रचार गरिरहेकोछ । तर पहिलो छोरीको बेला स्तनपान गराउन मैले करिब एक महिना जुन
संधर्ष गरे त्यो काम मेरो लागि आज सम्मकै गारो काम हो । मेरी छोरीले दुध चुस्नै
मानेन, चुस्न सकेन । उनले मेरो दुध
खाइनन् । म छोरीसगँ तिस दिन सम्म स्तनपान गराउन लडाई गरे र हारे । त्यस पश्चात मैले
उन्लाई पुर्ण रुपमा फर्मुला अर्थात बट्टाको दुध दिन थाले । चार वर्ष पछि दोस्रो
सन्तानमा आइपुग्दा पनि मैले स्तनपान गराउन उस्तै पिडा भोगे । पहिल्यै समस्या भोगी
सकेको कारण दोस्रो बच्चाको समयमा स्तनपानको निम्ती मेरो तर्फबाट सक्दो तयारी गरेकि
थिए । मेरा डाक्टर मित्रहरुसगँ सक्दो छलफल गरे । इन्टरनेटमा पाए सम्मको कुराहरु
पढे । स्तन विभन्न प्रकारका हुदाँ रहेछन्, स्तनको प्रकार अनुसार स्तनपान गराउन सजिलो र गारो
हुने रहेछ, बच्चाले अप्ठ्यारो मान्नेरहेछ र त्यसलाई कसरी सजिलो गराउने भनेर सुझाएका
अनगिन्ती उपायहरु थाहा पाए । मेरो आफ्नो स्तन बच्चालाई खान असजिलो हुने प्राकारमा
पर्ने रहेछ भनेर पनि थाहा पाए । त्यसलाई सुल्झाउन विदेशबाट औजारहरु मगाएर प्रयोग गरे । यती गरेपछि मेरो दोस्रो बच्चाले दुध
चुस्यो तर भने जसरि पुर्ण रुपमा दुध खुवाउन फेरी पनि सफल भइन ।
बच्चा जन्मे पछि डाक्टर तथा
नर्सहरु सिर्फ आफ्नो दुध खुवाउनुस् है भन्छन् तर मद्दत सुन्य सरह । डाक्टरलाई
समस्या राख्दा चुसाइरहनुस्, भोक लागे पछि खान्छन्, नर्सले सिकाउछ तर फर्मुला नदिनुस् बच्चाको बानि बिग्रिन्छ मात्र भन्दछन् । आमा भएका नर्सहरुले
केहि मद्दत गरेता पनि आमा नबनेका नर्सहरु “दोस्रो बच्चा ? दुध खुवाउन पनि नजान्ने” नजरले मलाई हेर्थे । हामीलाई
ख्याल गर्नु पर्ने स्वास्थय कर्मी भन्दा त ति कोठा सफा गर्न आउने दिदीहरु मेरो
अवस्था देखेर टिठ मान्थे र आफुले जानेका तरिकाहरु सिकाउथे र अन्यले गरेका प्रायस बारेमा
सुनाएर मलाई हौषला दिन्थे । मेरा आफ्ना दिदी, बहिनी, आमा, साथीहरु र मेरो श्रीमान मात्र मेरो पिडा बुझ्थे
र म सगैँ स्तनपान गराउने प्रायस गरिरहे ।
Lactation consultant भन्ने व्यक्ती पनि हुदो रहेछ भनेर दोस्रो बच्चाको पाला सम्म
आईपुग्दा थाहा भयो । दुध खुवाउन नसके पछि मेरो बच्चाको डाक्टरलार्इ कोही Lactation consultant सगँ सल्लाह लिउ न भनेर अनुरोध गर्दा उनको
आत्मसम्मानमा ठेस पुग्यो, ‘नेपालको सबै भन्दा ठुलो डाक्टर मै हुँ तपार्इलार्इ को
चाहियो’ भन्ने जवाफ दिइन् । मेरी आमाले
बच्चाले दुध चुसे पनिऽ बच्चाले दुध निलिरहेको छैन भन्दा ती डाक्टरले मेरी आमालाई
तपाई बुढी हुनुभएदछ, बच्चा स्याहारेको बिर्सिनुभएछ भनेर ठट्टा गरिदिनु भयो ।
मेरो समस्यालाई बुझ्ने चेष्टा नै गरिनन्, केही समय बसेर म र मेरो बच्चाको समस्यालाई
हेर्ने कष्ट नै गरिरनन् । हो डाक्टरका
अनुसार मेरो दुध निस्किरहेको थियो, बच्चाले चुसे पछि सैदान्तिक रुपमा उसले चुस्दा दुध निस्किन्छ र निल्छ भन्ने नै हो तर
वास्तविकता तिन दिन पछि थाहा भयो। आफुलार्इ ठुलो डाक्टर भनेर सगौरव घोषणा गर्नेको असम्वेदनशिलता
र लापरवाहले मेरो बच्चाको शरिरमा खाना तथा तरलताको कमीले रगतमा इन्फेक्सन सुरु
भैसकेको रहेछ । अथवा मेरो दुध आइरहेको थियो, बच्चाले दुध चुसिरहेको थियो तर मेरी आमाले भने
जसरी उसले चुस्दा दुध निस्किरहेको थिएन र उसले खाना पाएरहेको थिएन । मतलब मेरो
बच्चा तिन दिन सम्म भोकै थियो र उसको रगतमा इन्फेक्सन देखियो ।
स्तनपान गराउन समस्या
भोगेको कारण म कामको सिलसिलामा गाउँघरतिर जादाँ यस्ता समस्याबारे सोधपुछ गर्ने
गर्छु । विगत तिन वर्षयता म तराइका जिल्लाहरुका गाउँहरुमा कुरा गर्दा मैले जस्तो स्तनपान
गर्न, गराउन नसकेका थुप्रै समस्याहरु भेटेकी छु ।
स्तनपान गराउन जती सजिलो छ भनेर यहाँ प्रचार गरिन्छ, सबैको हकमा त्यो त्यती
सजिलो छैन । बच्चाले दुध चुसेन, आमाको दुधको मुन्टो छैन, दुध आएन, दुध आए पनि बच्चालाई पुग्ने गरि भएन भन्ने मनग्गे केशहरु हुने रहेछन् ।
स्तनपान गराउनेहरुको कुरा सुन्दा त्यो कति पिडादायी हुन्छ भन्ने अर्को पाटो छदैछ ।
दुध गानिएर अपरेशन सम्म
गर्नु पर्ने, बच्चाले धेरै चुसेका कारण
दुधको मुन्टामा घाउ हुने र स्तनापान गराउन नसक्ने अवस्था पनि त हुदो रहेछ । लै अरु
त अरु बच्चा जन्मिदै आमा गुमाउने बच्चालाई के खुवाउने, बच्चाहरु ७-८ महिनामै पुर्ण विकास नभइ
पनि त जन्मन्छन् नि त्यो अवस्थामा के गर्ने ? बुबाहरु जो घर बसेर बच्चालाई स्याहार्न
चाहान्छन् उनीहरुलाई के उपाय सुझाउने ?
अब मेरो प्रश्न यस्ता
अवस्थाका कारण स्तनपान गराउन नसक्ने आमा वा कुनै पनि स्वास्थय समस्याका कारण आमाको
दुध खान नपाउने, नमिल्ने, नसक्ने अवस्थालाई यो स्तनपान सप्ताह ले कहाँ सम्बोधन गर्छ ? यहाँ त स्तनपान नगराएका आमालाई नकारात्मक विल्ला
भिराउन सबै जना पुरापुर लागि परेको देखिन्छन् । स्तनपान गराएको कुरामा गर्व गर्ने
रे अनि त्यसो भए स्तनपान नगराउने चाही अपराधी ? संवेदनशिल तथा सक्षम आमाले स्तनपान गराउछन् रे
त्यसो भए स्तनपान गराउन नसक्ने आमा चही आफ्नो बच्चाहरुको स्वास्थय प्रती लापारवाह ? अर्को आम महिला माथि लगाइने तल्लो स्तरको
लाल्छना भनेको सुन्दरताका कारण स्तनपान गराउदैनन् भनेर गरिने टिप्पणी हो । किन
गराइनन् भन्ने त दोस्रो प्रश्न, स्तनपान गराउने कुरा महिलाको आफ्नो शरिर माथिको अधिकारको
कुरा भित्र पर्दैन र ? बच्चा पाउछु कि पाउदिन, कसरी पाउछु, कहाँ पाउछु, कहिले पाउछु भन्ने कुरा
उसको निर्णय हो भने स्तनपान गराउछु कि गराउदिन भन्ने कुरा मा पनि त उस्ले निर्णय
लिन पाउछे नि ।
हाम्रो समाजमा बल्ल त बुबाहरु
प्रतक्षरुपमा आफ्नो सन्तानलार्इ हेरचाहार तथा र्हुर्काउने काममा सहभागी हुन थालेका
छन् । ऐरपोर्ट जस्तो ठाउँमा स्तनपान कक्ष हुदाँ खुशी मान्नु पर्ने अवश्था छ ।
सार्वजानिक ठाउँमा स्तनपान गराउदाँ कर्के नजर लगाउने, स्तनपान गराउने ठाउँ भए पनि
स्तनपानको लागि चाहिने आसनमा बस्न मिल्ने ठाउँ हुदैन । बच्चा रोयो भने दिग्दारि भरिएको नजरले हेर्दछ । सार्वजानिक यातायातमा
बच्चा सहितको आमा चढे सिट छोड्नुको पिरले बच्चाको आमा त नचढे हुन्थ्यो नि भनेर मुख
खोलेरै भन्न भ्याउछन् । आमाहरुलाई सहयोग होइन, यहाँ आमालाई कि त देवता बनाइन्छ कि त दानवको
दर्जामा उभ्याइन्छ र बच्चाप्रतीको सम्पुर्ण जिम्मेवारीको भार उनी माथि थुपारिन्छ ।
म स्तनपान सप्ताहको विरोधि
होइन । म बच्चालाई आमाको दुधको सट्टा फर्मुला खुवाउनु पर्छ भनेर फर्मुलाको प्रचार
पनि गरिरा होइन । एकोहोरो स्तनपान गराउ भन्ने रटान होइन सबै बच्चाहरुलाई खाना पुग्नु
पर्छ, भोकै रहनुहुन्न भन्ने विषय चाहि सार्थक हुन्छ भन्ने हो । स्तनपानको मात्र
महिमाले बच्चा आमाको अप्ठ्यारो अवस्थालाई नजरअन्दाज गरिरहेको छ । स्तनपान गराउ भनिरहदा साना तथा कहि महत्वपुर्ण
विषय छुटिरहेका छन् । सबै भन्दा महत्वपुर्ण कुरो त अप्ठ्यारो अवस्थामा रहेका आमा र
बच्चालाई कसरी सहयोग गर्ने ? बच्चालाई स्तनपान नै गराउने वा हाम्रो ध्यान उसले पाउनु
पर्ने खाना तथा पोषणमा हुनु पर्ने हो ?
स्तनपान
भनेर आमाबुबाको मात्र कर्तव्य ठानिरहने वा हाम्रो परिवार, समाज, संरचना पनि आमा-बच्चा मैत्री हुनु पर्ने हो
?
यो वर्षको दिवसमा नितीगत
सुधार गर्ने, कम्तीमा कामकाजी आमालाई ८० दिन तलबी विदा दिने कुरा रहेछ । हामी बल्ल ८० दिनको
बिदाको कुरा गर्दैछौ अनी ६ महिना पुर्ण स्तनपान गराऔं पनि भन्दैछौ । यो त आफैमा
बाझिने कुरो होइन ? कि त महिलालाई काम छोडेर बच्चा हुर्काउनमा लाग भन्या हो कि
त काम गर्ने हो भने बच्चाको स्वास्थयको कुरा नगर भन्या हो ? मेरो समाजमा आमाबन्ने
निर्णय प्रती कस्तो धारणा राख्छन् भन्ने कुरा त मेरो कार्यालयमा दुर्इ महिना
सुत्केरी विदा पाइने प्रावधानलार्इ फाइदा देखेर म गर्भवती भएको हो कि भनेर एक जना
पुरुष मित्रबाट सोधनी भएकोबाट थाहा हुन्छ । अनी बच्चा छोडेर काममा जानुस् तपाइलाई
लगाइने स्वार्थी आमाको तक्मा छदैछ ।
हाम्रो समाज र संरचनाहरु
केही पनि, कहि पनि आमा सहयोगी छैनन् । डाक्टर नर्सहरु तथा स्वास्थ्यकर्मीहरु संवेदनशिल छैनन्
। नयाँ केश हुन सक्छ, नयाँ समस्या हुन सक्छ भनेर मान्न तयार नै छैनन् । मैले र
मेरो श्रीमानले मेरो डाक्टर र मेरो बच्चाको डाक्टरको अगाडी मेरो पहिलाको बच्चाको
केश बारे भन्यौ, कति बिन्ती गरियो तर उनीहरुले मेरो केशलाई केश मै सिमित गरिदिए । मेरो
पहिलाको बच्चा र दोस्रो बच्चा हेर्ने डाक्टर एकै व्यक्ती परेता पनि मेरो समस्यालाई
गहिरिएर अध्ययन गर्ने कष्ट नै गरेनन् । पहिलाको बच्चाले दुध खान नसकेको कारण मैलै
चहि बढी चिन्ता लिएको भनेर उल्टा मलाइ नै दोष दिनुभयो । ती डाक्टर सहयोगी छैनन् भनेर तीनलाई मैले दोस्रो
बच्चाका निम्ती रोज्न चाहेकि थिइन तर अस्पतालले मलाई डाक्टर रोज्ने अवसर पनि नदिने
रहेछ ।
पढाइको सिलसिलामा एक वर्ष
सिड्नी बस्दा बच्चा कसरी जन्माउने, उसलाई आफ्नो दुध कि फर्मुला खुवाउने निर्णय सिर्फ आमाको
इच्छामा छोडिने रहेछ भनेर थाहा पाए । र स्तनपान गराउछु भन्ने आमालाई हर सम्भव सहयोग गर्ने रहेछन् । बच्चाले दुध चुसेर निकाल्न
सक्दैन भनेर पहिलैबाट आफ्नो दुध २/३ थोपा गर्दै संकलन गरेर स्टोर गर्न सिकाउदा रहेछन् । बच्चा
पाउन भन्दा पहिलै स्तापान गर्न प्रयोगात्मक कक्षा दिनेरहेछन् । बच्चाको हुनेवाला बुवालाई के कसरी सहयोग
गर्ने भनि विभिन्न कक्षा संचालन गर्दा रहेछन् । यती गर्दा पनि बच्चालाई आमाको दुध
नभएमा अर्को आमाले दुध दान लिने/दिने व्यवस्था मिलाएका हुनेरहेछन् । काम गर्ने आमालाई ९ महिना तलबी विदा र थप १ वर्ष वेतलबी विदाको
व्यवस्था सम्म हुनेरहेछ । त्याहाँको सरकारले बच्चा जन्मेको घरमा आमा र बच्चाको
स्वास्थय अवस्था हेर्न स्वास्थयकर्मी पठाउदो रहेछ । यी नमुना व्यवस्थाहरु हुन्, अरु पनि होलान् जुन
व्यवस्थाहरुले आमा र बच्चालाई प्राथमिकतामा राख्दछ, आमा र बच्चाको स्वास्थयमा पुर्ण ख्याल राख्न
मद्त गर्दछ ।
हाम्रो जस्तो भद्रगोल समाजमा
आमा मैत्री व्यवस्था कहिले हुन्छ थाहा छैन, मेरो अनुभवमा त यी सबै मेरो समाजमा कल्पना
मात्र हो । र यो एकतमासको स्तनपान गराउदा बच्चाको स्याहार पुर्ण हुन्छ, आमाबुबाको कर्तव्य पुरा
हुन्छ, स्वस्थय समाज निर्माण हुन्छ भन्ने सपना चहि मलाई हाँसो लाग्दो लाग्छ । जब सम्म आमाको
अपठ्यारो महशुस गर्ने संवेदना हुदैन, आमा र बच्चा प्रती सहयोगी हातहरु बढ्दैनन्, सहयोगी निती चालु हुदैनन्, सहयोगी समाज र व्यवस्था
बन्दैनन्, अरु सबै भन्ने कुरा मात्र हुन् ।
The edited version of this article is published in https://www.kantipurdaily.com/opinion/2019/08/07/156514524159433492.html
Your artical has raised real issues Kala.
ReplyDelete